ताजा खबर

साहित्य

बालकथा : किस्ताको कम्प्युटर ।। (पेशल आचार्य) 

 

गाउँघरमा जताततै कम्प्युटर किन्ने एक प्रकारको फेसनै जस्तो भएको थियो । हुनेखानेले त असल जातकै ब्राण्डेड कम्प्युटर किन्थे । सक नभएकाहरू चाहिँ छिमेकीका घरमा ल्याएको कम्प्युटर हेरी चित्त बुझाउँथे ।

लिपिका घरमा ऊ र उसका भाइहरू पनि बाआमालाई कम्प्युटर किनिदिनु भनी करकर गर्न थालेका थिए । निकै वर्षदेखि थातिरहेको थियो उनीहरूको कम्प्युटर सिक्ने रहर । स्कुलमा कक्षा ९बाट कम्प्युटरको कक्षा सुरू भएको थियो । लिपि यसपालि कक्षा ८मा गएकी थिई । उसको ठूलो भाइ शब्द कक्षा ५मा र सानो भाइ वाक्य चाहिँ कक्षा ३मा पढ्थ्यो ।

लिपि त्यस घरकी जेठी छोरी थिई । ऊ पढ्न लेख्न धेरै तेज थिई । ऊ आफ्ना भाइबहिनीलाई नजानेको सिकाउँथी । उसले विद्यालयमा कहिले पनि दोस्रो हुनु परेन । मेधावी लिपिलाई कम्प्युटर विज्ञान लिएर पढ्ने खूब धोको थियो । ऊ आघौंसाल कम्प्युटर विषय रोज्ने विचारमा थिई ।

शब्द र वाक्य पनि दिदीको परिश्रम र लगनशीलताले गर्दा धेरै मन लगाएर पढ्थे । आफ्ना तीनवटै केटाकेटीहरू यसरी पढाइलेखाइमा दत्तचित्त भएको देख्दा बाआमा दुवै हर्षित थिए । उनीहरूले पनि छोराछोरीलाई कम्प्युटर नकिन्ने नै त भनिहालेका थिएनन् तर उनीहरूसँग एकै चोटी त्यत्रो तीसचालीस हजार एकमुष्ठ रुपैयाँ निकाल्ने साबगास थिएन । बूढाबूढीमात्रै हुँदा उनीहरू कुरा गर्थे –‘छोराछोरीहरूलाई योग्य र शिक्षित बनाउँने दायित्व हामी बाआमाको भएकाले अर्को साल त थुकतेल गरेरै भए पनि एउटा कम्प्युटर किन्नै पर्छ ।’

लिपिका बाबु विश्वास सानोतिनो सरकारी जागिरे थिए । उनको कमाइले घर चलाउन धौधौ थियो । त्यसैले लिपिकी आमाले बजारमा एउटा सानो लुगा सिलाउने पसल चलाएकी थिइन् । जमाना काम गरेर खाने खालको आएको थियो । पुरानो जात अनुसारको पेसा हुन्छ भन्ने मान्यता अब समाजबाट क्रमशः हट्दै जान थालेको थियो । मानिसहरू आफूखुसी पेसाको चयन गर्थे । त्यसैले लिपिकी आमाको कामलाई पनि त्यस समाजका मानिसले राम्रो दृष्टिले हेरेका थिए ।
‘मानिसको दुई जात, कामको एउटै जात’– विश्वास छोराछोरीहरूलाई सम्झाउँदै कहिलेकाहीँ प्रसङ्ग मिलाएर भन्ने गर्थे ।

आमाको नाउँ आस्था थियो । आस्था र विश्वास आफ्नो सबै सुखदुःखका कामहरू आफैँ बाँडेर गर्ने गर्थे । छोराछोरीले पनि उनीहरूलाई घरव्यवहारमा राम्रै सघाएका थिए । एक दिन विश्वासले सबै भएका बेला एउटा प्रस्ताव राखे – ‘अबदेखि तिमीहरूले दसैँ तिहारमा पाएको दक्षिणा र औंशीपूर्णिमामा टीका लाएर लिएको पैसा एकएक जम्मा पारी एक वर्षसम्ममा एउटा कम्प्युटर किन्नु पर्छ है !’ सबैले स्वीकृतिको सूचक टाउको हल्लाए । बाआमाले पनि महिनाको पाँच सय रुपैयाँ स्थानीय बचत संस्थामा जम्मा गरिदिने मेलो गरेका थिए ।

कम्प्युटर किन्ने रहर त्यसघरमा पलाउँदै गएको थियो । केटाकेटीहरू पनि थुकतेल गरेर आफ्नो पेवापाते जम्मा गर्ने गर्थे । समय बित्दै गयो । लगभग तीन वर्षको प्रतीक्षापछि लिपि र उनका भाइहरूको रहर पूरा भयो । बाले काठमाण्डौबाट एउटा राम्रो मोडलको कम्प्युटर किनेर घरमा ल्याइदिए ।

वाक्यले त्यस दिन कम्प्युटर हेरेरै दिन बितायो । उसले हर्कले राम्ररी खाना पनि खाएन । लिपि र ठूलो भाइ शब्दचाहिँ अब रुटिन बनाएर कम्प्युटरमा विभिन्न किसिमका सीप सिक्ने र चित्रहरू बनाउँने गर्थे । यसबीचमा लिपि हाइस्कुलको शिक्षा पूरा गरी स्थानीय क्याम्पसमा कक्षा एघारमा पढ्न थाली । भाइहरू शब्द र वाक्य भने क्रमशः कक्षा ८ र कक्षा ६मा पुगे ।

‘थोपाथोपा मिलेर नै नदी बन्ने गर्छ’– आमा आस्था भन्ने गर्थीन् । केटाकेटीको लगानी भएको कम्प्युटर भएकाले उनीहरूले नै त्यसलाई खोल्ने चलाउने नियम बनाएका थिए । बाआमा त हप्ताको एक दिन शनिबार मात्रै यसो के रहेछ भनी कम्प्युटरमा बस्ने गर्थे । छुरा भएका थिए– लिपि र वाक्यहरू कम्प्युटर प्रयोगमा । विद्यालयमा पनि सैद्धान्तिक ज्ञान दिइने भएकाले शब्द र वाक्यहरू खुरूरूरू कम्प्युटरमा टाइप गर्थे । उनीहरू चेम्पेन भएका थिए । आमा पनि आफ्नो सिलाइको केही काम भए कम्प्युटर मै गर्थीन् । बा पनि अफिसको फाट्टफुट्ट केही काम पाए कि घरमै ल्याउँथे । यसरी त्यो किस्ताको कम्प्युटर त्यस घरमा सबैलाई आफ्नो खनखाँचो काम टार्ने माध्यम बनेको थियो ।

‘हाम्रा साथीहरू त सुरूसुरूमा कम्प्युटरमा बस्दा हातका औंला कमाउँथे । ’ – वाक्य दिदी लिपिलाई भन्थ्यो । लिपि पनि उसलाई सम्झाउँथी – ‘बानी नपरुन्जेल त्यस्तै हो पछि आफैँ ठिक हुन्छ । कम्प्युटरमा काम गर्न जानेपछि हातले कुनै पनि कामै गर्नै मन लाग्दैन ।’ अलि समयको अन्तरालमा उनीहरूका घरमा टेलिफोन पनि जडान गरियो । त्यसपछि उनीहरूले इमेल र इन्टरनेट जोडे । पढाइलेखाइका सबै खाले कामहरू उनीहरू कम्प्युटर मै गर्ने गर्थे ।

त्यसको ठिक दुई वर्षपछि लिपिकी एउटी साथी विद्यार्थी भिसा पाएर अमेरिका पढ्न गई । लिपिले उसको इमेल ठेगाना राखेकी थिई । ऊ आफ्नी साथीलाई बेलाबेलामा अमेरिका इमेलमा खबर गरिरहन्थी । ‘प्लस् टु’ पास गरेर लिपि स्थानीय कम्प्युटर सिकाउने संस्थामा काम गर्न थालेकी थिई । उसका भाइहरू पनि अब कलेज पढ्ने भैसकेका थिए । एक दिन लिपि खुसी हुँदै घर आई । खुसीको विषय पछि थाहा भयो उसलाई अमेरिका गएकी उसकी साथीले कलेजको लागि भर्ना हुन सजिलो हुने ‘आई.ट्वान्टी’ पठाइदिएकिरहिछ । उसले बाआमासँग राम्रो विषय पढ्न जान पाइने हो रहेछ भने अमेरिका जानु पर्ला भनी प्रस्ताव राखी । आमाबाले चाहिँ छोरी मान्छे त्यति टाढा किन जाने ? नजानू, भनी मान्नुभएको थिएन तर भाइहरूले दिदी गएपछि आफूहरूलाई पनि सजिलो हुने भएकाले जिद्दी धेरै गरे ।

अन्तमा आमाबाको केही लागेन । लिपिले पत्राचार गर्दै रही । त्यही सालको मंसिरमा उसले बोस्टन विश्वविद्यालयमा कम्प्युटर विज्ञानमा नाम निकाली । तुरुन्तै भिसा मिल्यो । ऊ जाने निश्चयमा पुगी । तयारी हुन थाल्यो । बाले सञ्चयकोषबाट ऋण सापटी लिएर लिपिलाई अमेरिका पढ्न पठाए ।

निधारमा रातो टीका लगाएर विमानस्थलसम्म पुर्याउन सबै जहानै गए । तोकिएको समयमा प्लेन उड्यो । लिपिका बाआमाका आँखा रसाए । आमा आस्थाले चाहिँ मातृवात्सल्यता देखाउँदै सारीको सप्कोले आँसु पुछिन् । भाइहरूको मन पनि गह्रौं भएर आयो तर बा विश्वास भने छोरीको सफलतामा गद्गद् थिए ।

एकएक रुपैयाँ जम्मा गरेर किनेको किस्ताको कम्प्युटरले गर्दा आज लिपि संसारकै प्रसिद्ध कलेजमा कम्प्युटर साइन्समा डिप्लोमा गर्न अमेरिका उडी ।

‘असल चिजमा हालेको धनले भाग्य सपार्दो रहेछ’– विश्वासमा यसरी एउटा दह्रो विश्वासको वीजाङ्कुरण भयो ।

<