मनोरञ्जन

घर आँगनमा सिमित माघी पर्व अब मेला र महोत्सवको रुपमा विकास भएको छ ः मन्त्री बिना मगर ।।

हेमन्त न्यौपाने, कञ्चनपुर । 
कञ्चनपुरको बेलौरीमा थारु कल्याणकारिणी सभा बेलौरीले आयोजना गरेको प्रथम बेलौरी माघी मेलाको उद्घाटन कार्यक्रममा पुग्नुभएका नेपाल सरकारका खानेपानी मन्त्री वीना मगरले विश्व ध्रुवीकरण भईरहेको वर्तमान अवस्थामा गाउँगाउँ हुँदै देशदेश बीच संस्कार तथा परम्पराहरु आदानप्रदान भईरहेको बताउदैँ थारु संस्कृतिको संरक्षण र सम्बर्द्धन गर्नुपर्ने बताउनुभयो । 

 

उहाँले नेपालका विभिन्न जातिले माघी पर्व मनाउने गरेको बताउनुभयो । उहाँले घरआँगनमा सिमित भएको माघी पर्व अब मेला र महोत्सवको रुपमा विकास भएको जिकिर गर्नुभयो । उहाँले कञ्चनपुरको क्षेत्र नम्बर १ आफ्नै निर्वाचन क्षेत्रमा माघि खेल्न आएको बताउनुभयो । उहाँले चौधरी समुदायमा देखिएको सिकल सेल एनिमियाको परिक्षण र उपचारमा सरकार गम्भीर रहेको जानकारी गराउनुभयो । 

 

उहाँले विकासका काममा प्रतिपक्षीले सकारात्मक भुमिका निर्वाह गर्नुपर्ने बताउनुभयो । मन्त्री मगर थारु परिरनमा मञ्चमा पुग्नुभएको थियो । कार्यक्रममा उहाँले माघी मेलाका अवसरमा सबै आम नेपालीमा शुभकामना व्यक्त गर्नुभयो । 


कार्यक्रममा उपस्थित कार्यक्रमका बिशिस्ट अतिथि प्रदेश सभा सदस्य कुलबीर चौधरीले थारु संस्कृतिलाई जगेर्ना गर्न सबैलाई आह्वान गर्नुभयो । उहाँले थारु संस्कृति, खाना, रितिरिवाजको संरक्षण गर्नुपर्नेमा जोड दिनुभयो ।

 

यस्तै, कार्यक्रममा सम्बोधन गर्दै विशिष्ट अतिथि समेत रहनु भएका पुर्व सांसद एवं संविधान सभा सदस्य दिवान सिंह बिष्टले आफु पदमा रहेको बेला शुरु गरेका अधुरा कार्यहरुलाई पुर्णता दिई जनअपेक्षा अनुसार विकास गरेर देखाउन मन्त्री बिना मगरलाई आग्रह गर्नुभयो । उहाँले थारु समुदायको नयाँ वर्ष माघी पर्वको सबैमा शुभकामना दिँदै सबैले आफ्नो धर्म संस्कृतिको रक्षा गर्न आग्रह गर्नुभयो । 

 

“थारू एकता हमार सान, शिक्षा, भाषा, संस्कृती, पौर्हैटी लैजीना हमार अभियान” भन्ने मुल नाराका साथ बेलौरीमा पहिलो पटक आयोजना भएको बृहत् मेलालाई सम्बोधन गर्दै बेलौरी नगरपालिकाका नगरप्रमुख पोतिलाल चौधरीले जातीय पहिचान, भाषा, धर्म तथा संस्कृतीको जगेर्ना गर्ने मुख्य उद्देश्यले कार्यक्रम सञ्चालन भइरहेको र उक्त मेला सभ्य र भव्य रुपमा सम्पन्न गर्नुपर्नेमा जोड दिँदै माघीको सबैलाई शुभकामना दिनुभएको छ । 


तराईका चौधरी समुदायमा देखिने वंशाणुगत रूपमा सर्ने रक्तअल्पता सम्बन्ध रोग सिकल सेल एनिमिया’का कारण धेरैले ज्यान गुमाउनु परिरहेको सिकल सेल एनिमिया रोग न्यूनीकरण समिति बेलौरीका संयोजक पिताम्बर चौधरीले बताए । उनले रोगको पहिचान गर्दै ल्याव तथा औषधिउपचारमा निशुल्क व्यवस्था गर्न नेपाल सरकारलाई खानेपानी मन्त्री वीना मगरमार्फत आग्रह गरे ।

 

मेलामा थारू खानाका परिकार बंगुरको मासु, माछा, बयरको चटनी, ढिक्री, सिन्की, तिलको अचार, जाँडको झोल आदी राखिएका छन । कार्यक्रममा थारु समुदायको कला संस्कृति झल्किने झाँकी, मघौटा नाच, मुङ्ग्रह्वा नाच, झुम्रा नाचको प्रदर्शन गरिएको छ । छुट्टै पहिचान बोकेको थारु संस्कृतिको जगेर्नागर्दै नयाँ पुस्तालाई आफ्नो कलासंस्कृति प्रतिको सम्मान र सम्बर्द्धन गर्न मेला आयोजना गरिएको थारू कल्याणकारिणीसभा बेलौरी नगर संयोजक खड्ग बहादुर चौधरीले जानकरी गराउनु भयो । 

 

थारु समुदायको बाहुल्यता भएको कञ्चनपुर जिल्लाको बेलौरी, पुनर्वास, लालझाडी र बेलडाँडीका १० हजार भन्दा धेरैले मेलाको अवलोकन गर्ने अपेक्षा गरिएको कार्यक्रमका प्रचारप्रसार समिति संयोजक कृष्ण गम्वाले जानकारी गराउनु भएको छ ।

<