खास खबर

नगरको कामकाज नगर्ने शुक्लाफाँटा नगरपालिकाका वडा सदस्यहरूको चेतावनी ।।

अर्जुन सिंह, कञ्चनपुर ।
कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाका वडा सदस्यहरूले नगरको कामकाज नगर्ने चेतावनी दिएका छन् ।

 

 

नगरपालिका ऐन–कानून अनुसार नचलेको भन्दै वडा सदस्यले नगरको कामकाज नगर्ने जनाएका हुन् । मंगलबार वडा सदस्यको एक भेलाले नगरपालिका कार्यालय र कार्यपालिका ऐन कानून अनुसार नचल्दासम्म नगरको कुनै पनि काम नगर्ने बताएका छन् ।

 

 

 

मंसिर ११ गते एकतिहाईभन्दा बढी नगरसभा सदस्यले विशेष नगरसभा माग गर्दा समेत कार्यपालिकाले वास्ता नगरेकाले नगरको काम नगर्ने नगरसभा सदस्य उत्तरदेव भट्टले बताए । उनले नगर कार्यपालिकाले स्थानीय सरकार सञ्चालन ऐन २०७४ को परिच्छेद ४ को ३ मा रहेको प्रावधानको समेत वास्ता नगरेको बताए ।‘नगर कार्यपालिका ऐन नियम अनुसार चलेको छैन ।

 

 

 

स्थानीय सरकार सञ्चालन अनुसार चल्नुपर्छ,’ उनले भने । एकतिहाई बढी नगरसभा सदस्यले विशेष नगरसभा माग गरेको अवस्थामा ऐन–नियम विपरीत कार्यपालिकाले नगरसभा गर्ने मिति सारेको नगरसभा सदस्य भट्टले बताए ।

 

 

‘सरकार सञ्चालन ऐन २०७४ अनुसार एकतिहाई नगरसभा सदस्यले विशेष नगरसभा माग ग¥यो भने १५ दिनभित्र सभा बोलाउनुपर्छ । कार्यपालिकाले कुन ऐन कानूनमा रहेर नगरसभाको म्याद बढायो ?’ उनले भने । नगरसभा सदस्य भट्टका अनुसार पुस २२ गतेको कार्यपालिका बैठकले माघ २१ गते नगरसभा गर्ने निर्णय गरेको छ । 

 

 

 

विषयगत समितिमा पनि कार्यपालिका सदस्यलाई मात्र समावेश गरेको नगरसभा सदस्य जयबहादुर विष्टले बताए । उनले विषयगत समितिमा वडा सदस्यलाई पनि सहभागी गराउनुपर्ने माग गरे ।

 

 

 

हालसम्म बनेका समिति विघठन गरी नयाँसमितिमा वडा सदस्यलाई सहभागी गराउनुपर्ने नगरसभा सदस्य शिवराज भट्टले बताए । ‘नगर कार्यपालिका सदस्यले अधिकार प्रत्यायोजन नगर्ने र समिति उपसमितिमा पनि कार्यपालिका सदस्य मात्र बस्ने हो भने कार्यपालिका स्वच्छन्द र स्वेच्छाचारी ढंगले चल्छ,’ उनले भने ।
 

<