खेलकुद

कञ्चनपुरको बेलौरीमा प्रथम नगर स्तरीय एवं ११ राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता शुरु ।।

हरिश चन्द्र बाग, कञ्चनपुर ।
कञ्चनपुरको बेलौरीमा प्रथम नगर स्तरीय एवं ११ राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता शुरु भएको छ । बेलौरी नगरपालिकाको आयोजनामा बिहिबार एक कार्यक्रमका बीच सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री कृष्ण राज सुवेदीको प्रमुख आतिथ्यतामा उद्घाटन गरिएको बेलौरी नगरपालिका स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता २०७५ मूल आयोजक समितिका सदस्य सचिव अशोक पाण्डेले बताउनु भयो । बेलौरीको खुल्ला मञ्चमा जारी प्रतियोगितामा बेलौरी  नगरपालिका भित्रका सामुदायिक, संस्थागत र निजी गरी माध्यमिक  तहका २३ विद्यालयहरुको सहभागिता रहेको मूल आयोजक समितिका संयोजक श्याम कुमार पाण्डेयले जानकारी दिनुभयो । 

 

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि समेत रहनु भएका सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री कृष्ण राज सुवेदीले निर्वाचन क्षेत्र स्तरीय खेल मैदानका लागि प्रदेश सरकारले शिक्षा निर्देशनालय मार्फत बेलौरी नगरपालिका भित्रका लागि रु. ५० लाख बजेट विनियोजन गरेको र यस क्षेत्रमा समेत उपयुक्त खेल मैदानको आवश्यकता महशुस भएको हुँदा विवाद रहित स्थान सहित प्रतिवेदन पेश गर्न आश्वान गर्नुभयो । उहाँले यस क्षेत्रबाट राम्रा राम्रा खेलाडीलाई छनौट गरी प्रदेश सरकारले सञ्चालन गर्ने मुख्यमन्त्री कप लगायतका विभिन्न प्रतियोगितामा सहभागी गराउन पनि आग्रह गर्नुभएको छ । 

 

कार्यक्रमका विशिष्ट अतिथि समेत रहनु भएका कञ्चनपुर क्षेत्र नं. १ प्रदेश सभा क का सांसद तारा लामा तामाङले १ नं. निर्वाचन क्षेत्रका दुवै प्रदेश सभा सदस्य मिलेर दीगो रहने खालको संरचना बनाउन छलफल गरिरहेको बताउनु भयो । त्यस्तै, कञ्चनपुर क्षेत्र नं. १ प्रदेश सभा ख का सांसद कुलबीर चौधरीले गत वर्ष गरिएको प्रतिबद्दता अनुसार पुर्व मन्त्री दीर्घ सोराडीको पालामा प्रदेश सरकारले बेलौरी भित्र माग भए अनुसार केही बजेट विनियोजन गरेको तर स्थानको पहिचान नखुलेको हुँदा त्यसमा विचार गनुपर्ने आवश्यकता औँल्याउनु भयो । 

प्रथम नगर स्तरीय एवं ११ राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताको उद्घाटन कार्यक्रमका सभापति समेत रहनुभएका बेलौरी नगरपालिकाका नगर प्रमुख पोतिलाल चौधरीले स्थानीय, प्रदेश र संघीय गरी तीन तहका सरकार बनिसकेपछि पहिलो पटक स्थानीय सरकारलाई राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता सञ्चालनको अधिकार प्राप्त भएको र यसलाई उपलब्धीका रुपमा लिनुपर्ने बताउनु भयो । तीन दिन सम्म सञ्चालन हुने प्रथम नगर स्तरीय एवं ११ राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगितामा उत्कृष्ठ खेलाडीहरुलाई माथिल्लो तहका खेलका लागि पठाउँदा नगरपालिकाले पनि केहीनकेही सहयोग गर्ने बताउनु भएको छ । 

 

कार्यक्रममा बेलौरी नगरपालिकाका उपप्रमुख चित्र कुमारी चौधरीले शुभकामना मन्तव्य राख्दै नगरपालिकाले आयोजना गरेको कार्यक्रमलाई सफल पार्न सबैलाई आग्रह गर्नुभयो । सुदूरपश्चिम खक्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष लाल बहादुर शाहीले देश संघीय संरचनामा गइसके पछि खेलकुदमा पनि परिवर्तन आएको उल्लेख गर्नुभयो । उहाँले खेलकुदमा पनि संघीय संरचनाको ढाँचा लागु भइरहेको अवस्थामा स्थानीय सरकारले पनि खेलकुदका गतिविधि बढाउनु पर्नेमा जोड दिनुभयो । उद्घाटन कार्यक्रमको सञ्चालन शिक्षक तेज बहादुर चन्दले गर्नुभएको थियो ।

प्रस्तुत छ, सोही कार्यक्रम सम्बन्धी तयार पारिएको भक्सपप ।। 

<