खास खबर

बेलौरीमा जारी प्रथम बेलौरी पर्यटन महोत्सवमा दर्शकको संख्या अपेक्षा गरेको भन्दा बढी ।।

हरिश चन्द्र बाग, कञ्चनपुर ।
कञ्चनपुरको बेलौरीमा जारी प्रथम बेलौरी पर्यटन महोत्सव तथा कृषि, औद्योगिक व्यापार मेलामा आयोजकले अपेक्षा गरेको भन्दा बढी दर्शकहरुले अवलोकन गरेका छन् । मेलाको पहिलो दिन उद्घाटनमा निशुल्क प्रवेशको व्यवस्था गरिएको थियो । प्रवेश शुल्क सहित दोस्रो दिन शुक्रबार सन्तोषजनक रुपमा दर्शकहरुको उपस्थिति रहेको भएपनि तेस्रो दिन शनीबार ७ हजार भन्दा बढी दर्शकको उपस्थिति देखिन्थ्यो । चौथो दिन आइतबार झण्डै ५ हजारले अवलोकन गरेको महोत्सवमा पाँचौँ दिन सोमबार ६ हजार दर्शकको उपस्थिति रहेको आयोजकको दाबी छ । 

 

महोत्सवमा विभिन्न स्थानीय तथा राष्ट्रिय कलाकारहरूको सहभागिता रहदैँ आएको छ । सोमबार पाँचौँ दिन राष्ट्रिय कलाकार नवीन पौडेल, लाल बहादुर धामी “अछामी बड्डो” लगायत रानाथारु र डगौरा थारु समुदायका राष्ट्रिय तथा स्थानीय कलाकारहरुको समेत बेजोड प्रस्तुती रहेको प्रचारप्रसार समितिका संयोजक यज्ञ प्रसाद कँडेलले जानकारी दिनुभयो । आज मंगलबार राष्ट्रिय कलाकार सरस्वती लामा, नरेन्द्र राज रेग्मी, अन्नु चौधरी, रमेश मिशन, लाल बहादुर धामी “अछामी बड्डो” लगायत इन्द्रेणी ग्रुप र अन्य राष्ट्रिय तथा स्थानीय कलाकारहरुको समेत बेजोड प्रस्तुती रहने सांस्कृतिक समिति संयोजक धनेश दत्त पन्तले बताउनु भयो ।

 

“कृषि, पर्यटन, उद्योग र व्यापार ः समृद्ध बेलौरीको आधार” भन्ने मूल नारा सहित बेलौरी उद्योग वाणिज्य संघको आयोजना र बेलौरी नगरपालिकाको सह–आयोजनामा यही कार्तिक ८ गते बिहिबार उद्घाटन गरिएको महोत्सव यही कार्तिक १८ गतेसम्मका लागि सञ्चालन गरिएको हो । महोत्सवमा बाल उद्यान, कृषि प्रदर्शनी, व्यापार प्रबर्द्धन, मत्स्य विकास, धार्मिक एवं प्राकृतिक सम्पदाको प्रचारप्रसार तथा प्रबर्द्धन मुख्य आकर्षणको रूपमा रहेको बेलौरी उद्योग बाणिज्य संघका अध्यक्ष लक्ष्मी नारायण चौधरीले बताउनु भयो । महोत्सवमा एक सय पचास स्टल राखिएका छन् । 

 

बेलौरी–खजुरीया भन्सार नाका स्तरोन्नति, दोंदा नदि कटान व्यवस्थापन, कलुवापुर–बेलौरी सडगखण्ड तथा डोकेबजार–बेलौरी–बेलडाँडी–दैजी हुलाकी सडगखण्ड शीघ्र निर्माणका लागि सरकारलाई दबाब दिने र यस क्षेत्रको कला, संस्कृति, भेषभूषा तथा प्राकृतिक सम्पदाहरुको प्रचारप्रसार गरी पर्यटन विकासमा टेवा पुगाउने र औद्योगिक एवं व्यापारिक प्रबर्धनका लागि कञ्चनपुरको बेलौरीमा महोत्सवको आयोजना गरिएको हो । 

 

प्रवेशका लागि विद्यार्थीहरुलाई रु. ३० र अन्यलाई रु. ५० शुल्क लाग्ने आयोजकले जनाएको छ । महोत्सव अवधिभर प्रति टिकट रु. १ का दरले प्रत्येक टिकटबाट संकलित रकम सर्प दंश उपचार केन्द्र स्थापनाका लागि विनियोजन गरिने आयोजक बेलौरी उद्योग बाणिज्य संघले जनाएको छ ।

<