अर्थ-वाणिज्य

बेलौरी पर्यटन महोत्सवको सम्पूर्ण तयारी पूरा, खानेपानी मन्त्री बिना मगरले उद्घाटन गर्ने ।।

हरिश चन्द्र बाग, कञ्चनपुर ।
कञ्चनपुरको बेलौरीमा बिहीबारबाट सुरु हुन गइरहेको प्रथम बेलौरी पर्यटन महोत्सव तथा कृषि, औद्योगिक व्यापार मेलाको सम्पूर्ण तयारी पूरा भएको आयोजक बेलौरी उद्योग बाणिज्य संघले जनाएको छ । उक्त महोत्सवको बिहीबार मध्यान्ह १२ बजे कञ्चनपुर क्षेत्र नं. १ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य एवं खानेपानी मन्त्री बिना मगरले उद्घाटन गर्ने कार्यक्रम रहेको प्रचारप्रसार समिति संयोजक यज्ञ प्रसाद कँडेलले बताउनु भयो । 

 

बेलौरी–खजुरीया भन्सार नाका स्तरोन्नति, दोंदा नदि कटान व्यवस्थापन, कलुवापुर–बेलौरी सडगखण्ड तथा डोकेबजार–बेलौरी–बेलडाँडी–दैजी हुलाकी सडगखण्ड शीघ्र निर्माणका लागि सरकारलाई दबाब दिने र यस क्षेत्रको कला, संस्कृति, भेषभूषा तथा प्राकृतिक सम्पदाहरुको प्रचारप्रसार गरी पर्यटन विकासमा टेवा पुगाउने र औद्योगिक एवं व्यापारिक प्रबर्धनका लागि कञ्चनपुरको बेलौरीमा महोत्सवको आयोजना गरिएको हो । “कृषि, पर्यटन, उद्योग र व्यापार : समृद्ध बेलौरीको आधार” भन्ने मूल नारा सहित बेलौरी उद्योग वाणिज्य संघको आयोजना र बेलौरी नगरपालिकाको सह–आयोजनामा बिहिबार देखि १० दिनसम्म महोत्सव सञ्चालन गरिने बताइएको छ । 

 

महोत्सवमा बाल उद्यान, कृषि प्रदर्शनी, व्यापार प्रबर्द्धन, मत्स्य विकास, धार्मिक एवम प्राकृतिक सम्पदाको प्रचारप्रसार तथा प्रबर्द्धन मुख्य आकर्षणको रूपमा रहेको बेलौरी उद्योग बाणिज्य संघका अध्यक्ष लक्ष्मी नारायण चौधरीले बताउनु भयो । महोत्सवमा एक सय पचास स्टल राखिएका छन् । महोत्सव अवधिभर कञ्चनपुर, कैलाली तथा सिमावर्ती भारतीय क्षेत्रबाट समेत गरी करिब एक लाख जना अवलोकनाका लागि आउने प्रचारप्रसार समितिका संयोजक यज्ञ प्रसाद कँडेलले दाबी गर्नुभयो । 

 

महोत्सव कार्यक्रममा विभिन्न स्थानिय तथा राष्ट्रिय कलाकारहरूको सहभागिता रहने बताइएको छ । बिहिबार हुने उद्घाटन क्रममा विभिन्न जातजातीका नाच तथा झाँकी समेत प्रदर्शन हुनेछन् । महोत्सव उद्घाटनका दिन प्रवेश निःशुल्क गरिएता पनि अन्य दिन प्रवेशका लागि सर्वसाधारणलाई रु. ५० र विद्यार्थीहरुलाई रु. ३० शुल्क लाग्ने आयोजकले जनाएको छ । महोत्सव अवधिभर प्रति टिकट रु. १ का दरले प्रत्येक टिकटबाट संकलित रकम सर्पदंश उपचार केन्द्र स्थापनाका लागि विनियोजन गरिने आयोजक बेलौरी उद्योग बाणिज्य संघले जनाएको छ ।

<