ताजा खबर

खास खबर

दुई तिहाईको घमण्ड गरे समर्थन फिर्ता लिने सरकारलाई राजपाका नेता महतोको चेतावनी ।।

हरिश चन्द्र बाग, कञ्चनपुर ।
राष्ट्रिय जनता पार्टीका अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले दुई तिहाईको घमण्ड गरे वर्तमान सरकारलाई दिइएको समर्थन फिर्ता लिने चेतावनी दिनुभएको छ । बिहिबार राजपा कञ्चनपुरले  बेलौरीमा आयोजना गरेको संविधान विरोध सभा कार्यक्रममा सरकारले पाएको दुई तिहाइ बहुमतको दुरुपयोग भएको र दुई तिहाइको दम्भ समेत सुरु भएको आरोप लगाउनु भएको हो । 

 

 

जनताले जबसम्म आफ्नो अधिकार सुनिश्चित गर्न पाउँदैनन्, तबसम्म राजपाले यो संविधानको विरोध गरिरहने उहाँले चेतावनी दिनुभयो । तीन वर्षदेखि पटक–पटक संविधान संशोधन गर्ने आश्वासन पाए पनि पूरा नभएको राजपा नेता महतोको गुनासो छ । ३ वर्षअघि भएको टिकापुर घटना राजनीतिक घटना भएको भन्दै उहाँले बन्दी जीवन बिताइरहेका रेशम चौधरीको सपथग्रहण र टीकापुर घटनाका अन्य आरोपीलाई बिना शर्त रिहाई गर्नुपर्ने समेत माग गर्नुभएको छ । 

 

 

त्यस्तै, राष्ट्रिय जनता पार्टीका अध्यक्ष मण्डलका अर्का सदस्य अनिल कुमार झाले पनि मधेस तथा थारू समुदायको माग सम्बोधन गर्ने शर्तमा आफूहरुले वर्तमान सरकारलाई समर्थन गरेको जिकिर गर्नुभयो । उहाँले नेपाली जनताको कुरा बुझ्न, बोल्न र केही गर्न चाहने पार्टी राजपा मात्रै भएको दाबी गर्दै पछिल्लो समयमा बढिरहेका हत्या, हिंसा र बलात्कारका घटना प्रति सरकार उदासिन देखिनु दुखद भएको उल्लेख गर्नुभयो । कञ्चनपुरको भिमदत्त नगरपालिका २ खोल्टीकी निर्मला पन्तका परिवारलाई न्यायका लागि नेता झाले सरकार संग आग्रह गर्नुभयो । 

 

 

बेलौरी उद्योग वाणिज्य संघको सभाहलमा आयोजित २०७२ को संविधान विरोध सभा कार्यक्रममा प्रदेश सभा सदस्यद्वय कृष्ण बहादुर चौधरी र मालामति राना सहित राजपाका स्थानीय देखि केन्द्रीय स्तरका नेता कार्यकर्ताको उपस्थिति रहेको राजपा कञ्चनपुरका अध्यक्ष मण्डलका सदस्य एवं प्रवक्ता अम्बा दत्त तिवारीले बताउनु भयो । राष्ट्रिय जनता पार्टी कञ्चनपुरका अध्यक्ष मण्डलका संयोजक पल्टु रानाको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको हो । 

<