ताजा खबर

खास खबर

निर्मला हत्याकाण्ड : अनुसन्धानमा समन्वयका लागि एसपी दुर्गा सिंह (चन्द) कञ्चनपुरमा खटिइन् ।।

प्रहरी मुख्यालयले कञ्चनपुरमा थप एक एसपी खटाएको छ । बलात्कारपछि हत्या गरिएकी १३ वर्षीया बालिका निर्मला पन्तको अनुसन्धानमा समन्वयका लागि एसपी दुर्गा सिंह (चन्द) लाई खटाइएको प्रहरी मुख्यालय स्रोतले जानकारी दिएको छ । 

 

कञ्चनपुर घटनाका पीडित तथा स्थानीयसँग समन्वय गरी अनुसन्धान प्रभावकारी बनाउने जिम्मेवारी एसपी चन्दलाई दिइएको छ । उनले घटनाको अनुसन्धान समिति तथा जिल्लाका प्रहरी प्रमुखलाई सघाउने बताइएको छ । एसपी चन्द सो क्षेत्रको स्थानीय भएकाले पनि घटनाको अनुसन्धानमा समन्वय गर्न र पीडितलाई सान्त्वनाका लागि मद्दत पुग्ने अपेक्षा गरिएको छ । 

 

‘महिलासँग सम्बन्धित घटना भएकाले महिला प्रहरी अधिकारी खटिँदा अनुसन्धान तथा समन्वय गर्न सजिलो हुने भएकाले उनलाई कञ्चनपुर पठाइएको हो,’ प्रहरी मुख्यालय स्रोतले भन्यो । कञ्चनपुरका तत्कालीन एसपी डिल्ली विष्ट निलम्बनमा परेपछि उनको स्थानमा एसपी कुबेर कडायतले जिम्मेवारी सम्हाल्दै आएका छन् । चन्दले कडायतलाई घटना अनुसन्धानमा सहयोग गर्ने जानकारी दिइएको छ । 

 

एसएसपी बढुवाको लाइनमा रहेकी एसपी चन्द व्यवसायिक प्रहरी अधिकारी मानिन्छन् । यसअघि दाङको प्रहरी प्रमुख हुँदा उनले त्यहाँको आपराधिक सञ्जाल निर्मूल पार्न महत्वपूर्ण भूमिका निर्वाह गरेकी थिइन् । 

 

निर्मला हत्याकाण्डमा हालसम्म ५ जना प्रहरी अधिकारी निलम्बित भइसकेका छन् । डीआईजी धिरु बस्न्यातको संयोजकत्वमा बनेको नयाँ छानबिन समितिले निलम्बित प्रहरी अधिकारीको बयान थालेको छ । #सुशासन

<