ताजा खबर

खास खबर

भीमदत्तनगरका शिक्षकहरुले भदौ मसान्तभित्र दशैं पेश्की सहित पहिलो चौमासिकको तलब पाउने ।।

कञ्चनपुर ।
कञ्चनपुरको भीमदत्त नगरपालिकाका सबै विद्यालयका शिक्षकहरुले भदौ मसान्तभित्र पहिलो चौमासिकको तलब पाउने भएका छन् । भीनपाको आधारभूत तथा माध्यमिक शिक्षा उप शाखाले दशैं खर्च सहित तलब रकम निकासा गर्न लागेको हो । विद्यालयहरुले शैक्षिक क्यालेण्डर अनुसार साउन १५ गतेभित्र शिक्षा उप शाखामा माग फाराम पेश नगरेपछि तलब निकासा ढिलो हुन पुगेको थियो ।


आधारभूत तथा माध्यमिक शिक्षा उप शाखाका प्रमुख ईश्वरी ठगुन्नाले शैक्षिक  क्यालेण्डर अनुसार निर्धारित समयमा माग फाराम नआएकाले तलब निकासा हुन नसकेको बताइन् । ‘शैक्षिक क्यालेण्डर अनुसार साउन १५ गतेभित्र तलबका लागि माग फाराम पठाउन विद्यालयलाई जानकारी गराएका  थियौ, विद्यालयहरुले अहिलेसम्म माग फाराम पठाई रहेका छन्’ उनले भनिन्,‘माग फाराम आएको भए तलब निकासी भई सक्थ्यो, नआएर निकासी हुन नसकेको हो, यसमा नगरपालिकाले केही कमजोरी गरेको छैन ।’

 


उपशाखा प्रमुख ठगुन्नाले माग फाराम नआएका विद्यालय छाडेर अन्य विद्यालयका शिक्षकहरुको तलब भदौ मसान्तभित्रै खातामा पठाइने जानकारी  दिइन् । ‘चार स्कुलको अहिलेसम्म माग फाराम आएको छैन, ती स्कुलको आएपछि सबैकोमा एकमुष्ठ पठाउने सोचेका थियौ’ उनले भनिन्,‘अब ती स्कुललाई कुर्दैनौ, अन्य विद्यालयका खातामा तलब पठाउँछौ ।’ भीमदत्त नगरपालिकाका ५५ सामुदायिक विद्यालयका ७ सय ५० शिक्षक कर्मचारीले तलब खाने गरेका छन् । चालु शैक्षिक सत्रको पहिलो चौमासिकमा दशैं पेश्की सहित ९ करोड तलब रकम निकासा हुन लागेको छ । ‘यो रकम यसै महिनाभित्र जसरी पनि विद्यालयका खातामा जान्छ’ उनले भनिन् ।

 


नगर प्रमुख र उप प्रमुख कार्यालय नआएर तलब निकासी नभएको भनेर बाहिर अफवाह फैलाएकोमा उप शाखा प्रमुख ठगुन्नाले असन्तुष्टि जनाइन् । ‘विद्यालयले माग फाराम समयमा नपठाउँदा ढिलो हुन गएको हो, बाहिर प्रमुख र उप प्रमुखलाई तलबसित जोडेर हल्ला गरिएका छन्’ उनले भनिन्,‘यसमा कुनै सत्यता छैन, त्यस्ता हल्लाका पछाडि नलाग्न पनि म अनुरोध गर्छु ।’ भीनपा शिक्षा उप शाखामा हालसम्म कुनै पनि विद्यालयका शिक्षक तलब नपाएको भनेर नआएको उनले बताइन् ।

 


भीनपाले चार महिनाको तलब रकम एकमुष्ट रुपमा विद्यालयको खातामा पठाउने गरेको छ । त्यसपछि विद्यालयमा शिक्षक कर्मचारीलाई वितरण गरिन्छ । भीमदत्त नगरपालिकाका कार्य वाहक नगर प्रमुख भीम बहादुर शाहुले शिक्षकहरुको तलब नियम प्रक्रिया अनुसार निकासी गरिने बताए । ‘शिक्षा शाखाले तलब निकासाको काम गरिरहेको छ’ उनले भने ।

<