ताजा खबर

मनोरञ्जन

सुदूरपश्चिमेलीहरुको सबैभन्दा ठूलो पर्व गौरा पर्वको आज मुख्य दिन ।।

हरिश चन्द्र बाग, कञ्चनपुर, १८ भदौ ।
सुदूरपश्चिमेलीहरुको सबैभन्दा ठूलो पर्व गौरा पर्वको आज चौथो दिन अर्थात गौरा पर्वको मुख्य दिनका रुपमा लिने गरिन्छ । आजका दिन रङ्गीचङ्गी कपडामा सजिएका महिलाले गौरा राख्ने ठाउँमा पञ्च वनस्पतिले बनाइएको गौराको प्रतिमालाई रेशमी कपडाले सिङ्गारेर महेश्वरको प्रतिमासँगै बाहिर ल्याएर आसनमा राखी आठ अध्याय र आठ खण्ड भएको अठेबाली लगाउने चलन छ । त्यस्तै, परम्परागत फाग र गौराको गीतिकथा गाउँदै पूजा गरेर गौरा र महेश्वरलाई शिरमा राखी नाँच्ने गर्दछन् । आजकै दिन आफ्ना घरपरिवार आफन्तलाई विरुडाले पूजा गरी बिरुडा कै अक्षता समेत लगाउने गरिएको छ । 

पञ्चमीका दिन बिरुडा भिजाएर सुरु गरिएको गौरा पर्व फरक फरक समयमा समापन गरिन्छ । यसै अवसरमा देउडा र ठाडो खेल खेलेर रमाइलो गरिन्छ । गौरा पर्वका अवसरमा ठाउँठाँउमा मेला महोत्सव समेत सञ्चालन गरिएका छन् । धेरै ठाउँमा हप्तौँसम्म पनि विभिन्न सांस्कृतिक एवं मनोरञ्जनात्मक र प्रतिस्पर्धात्मक कार्यक्रम  आयोजना गरिन्छन् । गौरा पर्व प्रदेश नम्बर ७ सहित भारतको कुमाउ र गढवाल क्षेत्रमा समेत विशेष महत्वका साथ मनाइने गरिन्छ ।

 

गौरा पर्व मौलिक पर्व भएपनि पछिल्लो समयमा यसको मौलिकता हराउँदै जान थालेको छ । नयाँपीडिलाई गौरा पर्व सम्बन्धी ज्ञान नहुनु र सिक्ने चाँसो समेत नदेखिनुले कहीँ आउँदो पीडिसम्म पनि गौरापर्वको मौलिकता नरहने हो कि भन्ने धेरैको चिन्ताको विषय बनेको छ । संस्कृति हाम्रो अमूल्य सम्पत्ति हो । आधुनिकता संगै हराइरहेको मौलिकतालाई मध्यनजर गर्दै गौरा लगायतका संस्कृतिका जानकारहरुले नयाँ पीडिमा यसको सञ्चार गरी परम्परा, रीतिरिवाज र संस्कृति जोगाउनु आवश्यक देखिन्छ ।

<