खास खबर

जिल्लाभरीका कच्ची सडक बिग्रिदा कञ्चनपुरवासीलाई सास्ती, जोखिमपूर्ण यात्रा गर्न बाध्य ।। 

मोहन बिष्ट, कञ्चनपुर ।
कञ्चनपुरमा साउनको पहिलो साता देखि नै नियमित वर्षा भइरहदाँ किसानलाई खेतीमा ठुलो राहत पुगेको छ तर जिल्लाभरीका कच्ची सडक बिग्रिदा यात्रुको बिजोग भएको छ । वर्षाका कारण जिल्ला सदरमुकाम महेन्द्रनगरबाट दक्षिणी क्षेत्र जोड्ने २० किलोमिटर दुरीको दैजी–बेल्डाँडी सडक सहित डोकेबजार–पुनर्वास–बेलौरी–बेल्डाँडी बिग्रिएको छ । उक्त सडकखण्ड अहिले हुलाकी राजमार्गमा समायोजन भई पक्की बन्ने क्रममा भएपनि कामले तीब्रता नपाउँदा यहाँका नागरीकलाई सास्ती भएको हो । 

 

त्यस्तै, हाल बेलौरी–कलुवापुर, वाणी–देखतभूली–शंकरपुर, कलुवापुर–बेल्डाँडी, वाणी–बंक, झोलुङ्गे–कुतियाकबर, कालिकिच–झर्नाखोला लगायतका जिल्लाभरीका सडकको अवस्था पनि अहिले निकै बिग्रिएको छ । सडक बिग्रिएका कारण दिनहुँ दुर्घटना समेत भइरहेको स्थानीयले बताएका छन् ।

 

विगतमा दैजी–बेल्डाँडी सडकखण्ड महाकाली सिँचाईको स्वामित्वमा थियो, अहिले हुलाकी राजमार्गलाई हस्तान्तरण गरेको दुई वर्ष भयो र कालोपत्रेका लागि ठेक्का भएको समेत डेढ वर्ष पूरा भइसकेको छ । ठेकेदारको लापर्बाहीले सडकको अवस्था बिग्रिएको स्थानीय दिपेन्द्र सिंह धामीले आरोप लगाएका छन् । दैजी–बेल्डाँडी सडकखण्डमा दुई नदि पर्छन् तर नदिमा पुल छैन । सोही सडकखण्डमा गत असार महिनामा दुर्घटना हुँदा एक बालकको ज्यान समेत गएको थियो ।
 

<