खास खबर

स्थानीय तह कर्मचारी जिल्ला समन्वय सञ्जाल कञ्चनपुरको नयाँ कार्य समिति चयन ।।

कञ्चनपुर ।
स्थानीय तह कर्मचारी जिल्ला समन्वय सञ्जाल कञ्चनपुरको झलारीमा सम्पन्न भेलाले शनिवार नयाँ कार्य समिति चयन गरेको छ । कर्मचारीको समन्वय भेलाले अध्यक्षमा रघुनाथ भट्ट, उपाध्यक्षमा गंगादत्त जोशी, सचिवमा चन्द्रकान्त जोशी, सह सचिवमा अशोक पाण्डेय, कोषाध्यक्षमा सिद्धराज ओझा सहित १३ सदस्यीय तर्दथ कार्य समिति चयन गरेको हो । सदस्यमा तपश्या भट्ट, कमला बडाल, लक्ष्मी भण्डारी, प्रभुराज जोशी, टिकेन्द्र प्रसाद भट्ट, दलबहादुर गुरुङ र तेज बहादुर सुनारलाई चयन गरेको छ ।

 

निजामतीबाट समायोजन भई आउने कर्मचारीसंगको सम्बन्ध सौहार्द बनाउन र जननिर्वाचित जनप्रतिनिधिसंग रथ र पांग्राको सम्बन्ध स्थापित गर्नका लागि समितिले कार्य गर्ने अध्यक्ष भट्टले बताउनु भयो । भेलाले प्रदेश नं ७ का नौ वटै जिल्लामा कार्यरत कर्मचारीको प्रदेश स्तरीय सञ्जाल निर्माण गर्ने, विभिन्न कृयाशील स्थानीय तहका कर्मचारीका सबै संगठनलाई मिलाई एउटै भरपर्दो संस्था निर्माण गर्ने, स्थायी, अस्थायी, करार, ज्यालादारी एवं स्वयंसेवक कर्मचारी कार्यरत रहने व्यवस्थाको अन्त्य गर्ने निर्णय गरिएको छ । 

 

यसैगरी भेलाले लामो समय देखि करार सेवामा कार्यरत रही आफनो उर्जाशील जीवन राज्यका लागि समर्पित गर्ने कर्मचारीको व्यवस्थापनका लागि राज्यसंग पहल गर्ने, कर्मचारीको ज्ञान, सीप र क्षमताका आधारमा अवसर प्राप्त हुने प्रणालीको विकास हुने वातावरणका लागि राज्य संग पहल गर्ने, जिल्लाभरिका स्थानीय तहहरुको विभिन्न गतिविधिमा एकरुपता ल्याउने प्रयास र सिकाई आदानप्रदानमा जोड दिने भेलाले निर्णय गरेको छ ।

<