ताजा खबर

खास खबर

बेलौरी–खजुरीया भन्सार नाकाका लागि कष्टम अफिस खोल्न भारतीय लोक सभामा सांसद टेनीको प्रस्ताव ।।

हरिश चन्द्र बाग, कञ्चनपुर ।
कञ्चनपुरको बेलौरी छोटी भन्सार नाकालाई स्तरोन्नती र बेलौरी–खजुरीया भन्सार नाकाका लागि भारतको खजुरीयामा कष्टम अफिस स्थापनाको चर्चा चलिरहेकै बेला भारतीय लोक सभामा यस विषयले प्रबेश पाएको छ । भारतीय लोक सभामा प्रतिनिधित्व गर्ने उत्तर प्रदेश लखिमपुर खिरीका सांसद अजय मिश्र टेनीले खजुरीयामा कष्टम अफिस स्थापना गर्ने सन्दर्भमा भारतीय लोक सभामा विचार व्यक्त गर्नुभएको छ । उहाँले नेपाल संग भइरहेको बैध व्यापारको सहजता र सुगमताका लागि सीमामा कष्टम कार्यालय खोल्ने बारे प्रस्ताव गर्नुभएको छ ।

 

 

यसअघि गत शनीबार बेलौरी उद्योग बाणिज्य संघ र खजुरीया व्यापार मण्डलको संयुक्त टोलीले बेलौरी–खजुरीया भन्सार नाकाका लागि भारतको खजुरीयामा कष्टम अफिस सञ्चालनका सन्दर्भमा भारतीय लोक सभामा प्रतिनिधित्व गर्ने उत्तर प्रदेश लखिमपुर खिरीका सांसद अजय मिश्र टेनी र पलिया विधान सभाका सांसद दीपक तलवार संग छलफल गरेको थियो । नेपाल तर्फ बेलौरीमा छोटी भन्सार कार्यालय भएपनि भारत तर्फ खजुरीयामा कष्टम कार्यालय नहुँदा दुबै देशको बैधानिक व्यापार व्यवसायमा असहजता भएको छ । कञ्चनपुरको दक्षिण क्षेत्रलाई भारतसँग जोड्ने प्रमुख नाकाका रुपमा रहेको छोटी भन्सार स्तरोन्नति नहुँदा कृषि उपजको निर्यात तथा आवश्यक सामानको आयातमा सबैभन्दा ठूलो समस्या स्थानीयवासीले झेल्दै आएका छन् । विगतदेखि नै उक्त नाका खोल्न बारम्बार पहल गरिए पनि हालसम्म नाका खुल्न सकेको छैन । 

 

 

भारत तर्फ खजुरीयामा कष्टम कार्यालय स्थापना गर्ने र बेलौरी–खजुरीया भन्सार नाकालाई बैधानिकता दिने सन्दर्भमा दुबै देशका अधिकारीहरु सकारात्मक देखिन्छन् । गतहप्ताको बिहिबार मात्रै कञ्चनपुर क्षेत्र नं. १ बाट प्रतिनिधि सभामा निर्वाचित सांसद तथा खानेपानी मन्त्री बीना मगर र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मातृका प्रसाद यादवबीच भएको भेटघाटमा पनि भारत तर्फ कष्टम कार्यालय स्थापनाका लागि औपचारिक प्रस्ताव लैजाने विषयमा छलफल भएको थियो ।

 

 

यसैबीच, नेपाल सरकारले नेपाल र भारतबीच व्यापार तथा पारवहनका सम्बन्धमा भारतीय सम्बन्धित पक्षसँग छलफल गर्न उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव रवि सैँजुको नेतृत्वमा गठन गरेको टोली बुधबार भारत प्रस्थान गरेको छ । उक्त टोलीले बेलौरी–खजुरीया भन्सार नाकाको एजेण्डालाई समेत छलफलमा समावेश गर्ने जनाइएको छ । व्यापार, पारवहन, भन्सार नाका लगायतका विषयमा नेपाल भारतबीच भएका सम्झौता तथा व्यवहारिक पक्षमा छलफल गर्न टोली भारत गएको हो ।  

 

 

यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणको बेला समेत उक्त एजेण्डालाई छलफलमा राख्न कञ्चनपुर क्षेत्र नं. १ बाट प्रतिनिधि सभामा निर्वाचित सांसद तथा खानेपानी मन्त्री बीना मगरले पहल गर्नुभएको थियो । खानेपानी मन्त्री बिना मगरले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको नेतृत्वमा अन्य मन्त्रालयका पदाधिकारी सम्मिलित टोली भारत गएकोले यो एजेण्डा औपचारिक रुपमा नै टेबल हुने र नाका तत्काल खुल्नेमा विश्वास व्यक्त गर्नुभयो । 

 

 

केहीदिन अगाडी ईटा व्यवसायीहरु संगको भेटघाटका क्रममा नेकपाका अध्यक्ष पुष्पकमल दहाल प्रचण्डले पनि केही दिनमा हुनलागेको आफ्नो भारत भ्रमणका बेला बेलौरी–खजुरीया भन्सार नाकाको विषयलाई प्राथमिकताका साथ उठान गर्ने प्रतिबद्दता जनाउनु भएको ईटा व्यवसायी संघका महाकाली अध्यक्ष एवं नेकपाका नेता बलदेब सिंह बुडालले बताउनु भयो ।

 

<